काठमाडौं । नयाँ गभर्नर छनोट गर्न गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।
सिफारिस समिति गठन भएको एक महिनासम्म बैठकसम्म नबस्ने समितिमा बस्नुको कुनै अर्थ नभएको भन्दै उनले राजीनामा दिएका हुन ।
नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो ।
भट्टराईले समितिमा बस्नुको कुनै अर्थ नभएकाले राजीनामा दिएको बताएका छन्। समितिले केही काम नै नगरेपछि किन बस्नु भन्ने लागेर राजीनामा दिएको उनको भनाइ छ।
सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति तथा डेपुटी गभर्नरहरू मध्येबाट तीन जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्ने व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५९ को दफा १५ को उपदफा ३ मा छ ।