काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यावदविरुद्ध ३ करोड २९ लाख ४५ हजार ७ सय रुपैयाँको विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको विषयमा यादवविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा भ्रष्टाचार गरेको पाइएपछि आयोगले उनीविरुद्ध आरोप पत्र दायर भएको हो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले यादवले २०६३ साल भदौ ०८ गतेदेखि २०८१ साल असार २० गतेसम्म आर्जन गरेको सम्पत्तिको आयभन्दा व्यय अत्यधिक भएको र सो सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएकाले आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मु्द्दा दायर गरेको जानकारी दिएका छन् ।
यादवले तलबी पारिश्रमिक, भत्ता,नागरिक लगानी कोष,आवास कर्जा,कृषि आम्दानी,सवारी र अचल सम्पत्ति बिक्री सापटी तथा बैंकको ब्याजबाट कूल २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँको वैध आय गरेको देखिएको छ।
सोही अवधिमा उनले घर निर्माण,गहना,जग्गा खरिद,सवारी साधन,शैक्षिक खर्चलगायत शीर्षकमा कूल ५ करोड ७१ लाख ६६ हजार ३५१ पैंसा खर्च गरेको देखिएको अख्तियारको दावी छ।
आयोगले उनीमाथि सोही रकम बराबरको विगो र सजायको माग गरेको छ।
यसैगरी, गैरकानुनी रुपमा आर्जन गरेको रकम र त्यसबाट बढाइएको सम्पत्ति यादिले आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको देखिएको हुँदा उनलाई पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ र अख्तियार ऐन २०४८ को दफा २९ (ख)बमोजिम प्रतिवादी बनाइ सम्पत्ति जफतका लागि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।