काठमाडौं । दानव र सप्तकोशी नदीमा डुबेर ५ जना बेपत्ता भएका छन् ।
रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक र सप्तकोशी नदीमा नुहाउने क्रममा २ जना गरी ५ जना बेपत्ता भएका हुन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर बालकहरू बेपत्ता भएका प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक–२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन रहेका छन् ।
बेपत्ता बालकहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले खोजी गरिरहेका प्रहरीले जनाएको छ ।
यस्तै, सप्तकोशी नदीमा नुहाउने क्रममा मामा-भान्जा बेपत्ता भएका छन् ।
सुनसरीको इटहरी १६ बालग्राम निवासी १६ वर्षीय भान्जा जेनिस आचार्य र ४० वर्षीय मामा नवराज बास्तोला कोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
सोमबार ८ः३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भान्जालाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।