काठमाडौं । सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई जिम्मेवारी तोकेर कामकाजमा खटाएपछि आजदेखि प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका हुन् ।
यसअघि, नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशाासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो ।
जसले गर्दा कार्यालयको दैनिक कामकाज प्रभावित भएको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत राइनलाई आज नगर प्रमुख डा.नवीनकुमार यादवले नगरपालिकामा स्वागत गरेका छन् ।
स्वागत गर्दै नगर प्रमुख यादवले अधिकृत राइनलाई नगरपालिकाको हरेक गतिविधिहरू जनताको पक्षमा गर्न निर्देशन दिएका थिए ।