काठमाडौं । टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
महेन्द्र राजमार्गस्थित पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुर सिमरा उपमहानगरपालिका–१६ भुईँपुल नजिकै टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
शुक्रबार दिउँसो ३ बजे निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र पथलैयाबाट निजगढ आउँदै गरेको बा ०१ ०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किएको थियो ।
उक्त दुर्घटना हुँदा कारमा सवार सर्लाही बरहथवा नगरपालिका–१५ हजरियन बस्ने ४६ वर्षीय नारायणहरि शर्माको मृत्यु भएको छ ।
मृत्यु भएका कार चालकको हालसम्म परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि निजगढ नगरपालिकास्थित अस्पताल लगिएको थियो तर, चेकजाँच गर्दा दुवै जनाको मृत्यु भईसकेको अस्पताल प्रशासनले जनाएको छ ।
दुर्घटनापछि टिपर चालक फरार रहेका छन् । उनको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।