अछाम । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ स्थित जयगढ बजारमा हालै भएको भीषण आगलागीबाट क्षतिग्रस्त संरचनाको स्थलगत निरीक्षण गरेका छन् ।
बुधबार जिल्ला सुरक्षा निकायका प्रमुखहरू सहितको टोलीसहित मन्त्री पाल घटनास्थल पुगेका हुन् । उनले प्रभावित क्षेत्रको अवलोकन गर्दै पीडितहरूसँग प्रत्यक्ष संवाद गरेका थिए ।
मन्त्री पालले प्रारम्भिक राहतस्वरूप प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको जानकारी गराउँदै भने, 'थप सहयोग आवश्यक परेमा प्रदेश सरकार गम्भीर ढंगले पहल गर्नेछ।'
निरीक्षण टोलीमा नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी पनि सहभागी थिए । पाल र जैशीले गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिहरूसँग राहत तथा पुनःस्थापना योजनाबारे छलफल गरेका थिए ।
यस्तै मन्त्री पाल मेल्लेख गाउँपालिका–६ मा रहेको नन्देश्वरी माध्यमिक विद्यालयले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।