काठमाडौं । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्समा वृद्धि भएको छ । गत साउनेदेखि फागुनसम्ममा रेमिट्यान्स आप्रवाह ९ दशमलव ४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव ९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ ।
फागुनमा मात्रै यसमध्ये १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । यसरी एकै महिनामा डेढ खर्ब रेमिट्यान्स भित्रिएको यो पहिलोपटक हो ।
वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएपछि रेमिट्यान्स रकम बढेको हो । यस वर्ष फागुनसम्म ३ लाख १७ हजार ६८ जना अन्तिम श्रम स्वीकृति र २ लाख १७ हजार ४ सय ३ जना पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३ सय ५२ र १ लाख ८२ हजार ७ सय ८३ रहेको थियो ।
रेमिट्यान्सको आप्रवाह बढेसँगै सरकारको चालू खाता पनि १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले बचतमा रहेकामा अहिले १ अर्ब ३३ करोडले बचतमा रहेको छ । राजधानी दैनिकबाट
Leave a Reply