काठमाडौं । आइतबार काठमाडौंको माइतीघर–बानेश्यर क्षेत्रको दृश्य अलि फरक थियो । गत बुधवारदेखि आन्दोलन गरिरहेका शिक्षकहरुसँगसँगै डाक्टर र उज्यालो नेपालका अभियान्ताहरु आ–आफनो मागसहित सडकमा उत्रिए ।
कोही भिक्षुको भेषमा त कोही डाक्टरको भेषमा अनी कोही शिक्षकको पोशाकमा । फरक फरक भेषमा माइतीघर आएका उनीहरुको माग पनि फरक फरक नै थियो ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु माइतीघरमै थिए ।
शिक्षकसँगसँगै नेपाल मेडिकल कलेजका डाक्टरहरु आफूहरूमाथि श्रम शोषण भएको भन्दै प्रदर्शनमा उत्रिए ।
डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिककरण उत्तिकै रहेको लगायत विभिन्न माग राखेका थिए ।
त्यसैगरी नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै उज्यालो नेपालका अभियान्तहरु माइतीघर पुगे । उनीहरुको प्रदर्शन बबरमहल हुदै बानेश्वरसम्म पुग्यो ।
उनीहरुले ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ, पुरा नेपाल झलमल छ, जनताको मनमा कुलमान छ, कुलमान हाम्रो शान हो देश र जनताको मान हो’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोणसभामा परिणत भएको थियो ।
कुलमानको पुनर्वाहालीको माग गर्दै सडकमा आउने उज्यालो नेपालका अभियान्ताहरुमा भिक्षुहरु पनि थिए ।
शिक्षक र डाक्टरहरु नै आन्दोलनमा उत्रिदा एकातिर सिंगो सरकारमाथि दबाब पुग्ने देखिन्छ भने अर्कोतिर सर्वोच्च अदालतले समेत अन्तरिम आदेश दिन अस्वीकार गरेको अवस्थामा घिसिङका पक्षमा जनता सडकमा उत्रिदा सरकारलाई अप्ठेरो पर्ने देखिन्छ ।
Leave a Reply