मोरङ । शुक्रबार राति मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटनामा परेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।
रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रतुवामाई–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र पछाडि सवार उनकी श्रीमती ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको हो ।
मोरङ ट्राफिक प्रहरीका अनुसार शुक्रबार राति सवा १० बजेतिर आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई स्थानीयले उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पठाएको र उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।