काठमाडौं । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा ज्यान गुमाएका चारै जनाको परिचय खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा तीन महिला र एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका–८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीया सासु आमा (नाम नखुलेको) र पश्चिम बर्दघाटका ५० वर्षीय बस चालक मदन कुमार विक रहेका छन् ।
शितगंगा नगरपालिका–२, भुवनपाटामा मंगलबार भएको दुर्घटनामा २७ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ठाडाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।
दुर्घटनामा परेको लु २ ख ३०३ नम्बरको बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि आएको थियो। फर्किने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गम्भीर घाइते सात जनालाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ ।