काठमाडौं । लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने र आयोगले तोकेको जरिबानासमेत नबुझाएका तीन राजनीतिक दल खारेजी प्रक्रियामा जाने भएका छन् ।
यसरी खारेज प्रक्रियामा जानेमा आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक) हुन् ।
निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार तीन वटै दलले पछिल्लो तीन वर्षको लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् । ती दलले आयोगले तोकेको जरिबानासमेत बुझाएनन् ।
आयोगले तीन वटै दललाई लगातार तीन वर्षको लेखा परीक्षण प्रतिवेदन नबुझाएकाले गत वर्ष ५० हजार रुपियाँ जरिबाना तिरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार सोबाहेक अन्य पाँच राजनीतिक दलले पछिल्लो तीन वर्षदेखि लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् । दुई पटक जरिबाना तोकिएकोमा पाँच वटै दलले जरिबानासमेत बुझाएनन् ।
लेखा परीक्षण प्रतिवेदन र जरिबानासमेत नबुझाउने गान्धीवादी पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, साझा पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) ले लगातार तीन वर्ष लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् । गोरखापत्रबाट