काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने संकेत गरेका छन् ।
राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, हिन्दू राष्ट्र स्थापनासहितका मागसहित आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री ओलीले यस विषयमा थप छलफल गर्दै अगाडि बढ्न खोजेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग थप छलफल गरेर अगाडि बढ्ने योजनामा रहेका छन् ।
यसअघि नै प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल हुने भनिएको थियो । तर, माओवादी केन्द्रद्वारा हुलाकी राजमार्ग केन्द्रित आयोजित जनतासँग माओवादी कार्यक्रमका लागि प्रचण्ड तराई मधेशतर्फ गएकाले उनीहरूको भेट हुन सकेन । प्रचण्ड गएपछि ओली र देउवाबीच मात्रै छलफल भएको थियो ।
‘यो व्यवस्थालाई नै चुनौती दिँदै सडकमा उत्रिएपछि पूर्वराजालाई पनि गिरफ्तार गर्नुपर्ने हुन्छ, यस विषयमा ओलीले देउवासँग छलफल गरिसक्नुभएको छ, थप छलफल आवश्यक भएकाले प्रचण्डसँग भेट्ने योजना छ, तर प्रचण्ड तराई मधेशतिर भएकाले तीनै जना नेताको भेट हुन सकेको छैन,’ बालुवाटार स्रोतले भन्यो, ‘अब छिट्टै नै तीन नेताबीच छलफल हुन्छ, के गर्नुपर्छ व्यवस्था जोगाउन त्यो सबै गर्नुपर्नेमा नेताहरू सहमत नै हुनुहुन्छ ।’ राजधानी दैनिकबाट