काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक सम्पर्क गरे पनि भेट्न नसकेको गुनासो गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिएको थियो । बैठकमा माओवादी केन्द्रका सांसद विमला सुवेदीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन् ।
‘मैले पटक–पटक सम्पर्क गर्न खोजें तर स्वास्थ्य समस्याका कारण उहाँसँग प्रत्यक्ष संवाद हुन सकेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, म निरन्तर प्रयासरत छु ।’
ओलीले यस्तो जवाफ दिए पनि प्रचण्डको स्वास्थ्य ठीक छ । अहिले उनी माओवादी केन्द्रद्वारा आयोजित हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी कार्यक्रमका लागि मधेशमा छन् ।
बिहीबार बाराको सिम्रौनगढ र कलैयामा आयोजित कार्यक्रममा प्रचण्ड दिनभर व्यस्त थिए । जनतासँग भेट्ने, उनीहरूको गुनासो सुन्ने र पार्टीलाई विस्तार गर्दै अगाडि बढ्ने योजनामा उनी पार्टीद्वारा आयोजित कार्यक्रममा छन् ।
प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । राजधानी दैनिकबाट