काठमाडौं । संवैधानिक राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजावादी पक्षधरहरू सक्रिय बनेपछि तीनतिर फर्किएका प्रमुख दलका शीर्ष नेताहरू सघन छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गम्भीर छलफल भएको छ ।
सोमबार प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डसँग छलफल गरेका छन् । सोमबार बिहान छलफल गरेका यी तीन नेताका बीचमा दिउँसो फोनमा समेत संवाद भएको थियो ।
साथै, सोमबार साँझसमेत यी तीन नेताबीच भेटघाट तय भएको थियो । तर, प्रचण्ड साँझको भेटघाटमा पुगेनन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच मात्रै भेटघाट भयो ।
पछिलो समय राजावादीहरूको सक्रियता बढेसँगै त्यसलाई कसरी प्रतिवाद गर्ने भन्नेमा नेताहरूबीच छलफल भइरहेको छ । ‘अहिले सडकदेखि सदनसम्म राजावादीहरू सक्रिय भएका छन्,’ बालुवाटार स्रोतले भन्यो, ‘पूर्वराजाले राजसंस्था पुनस्र्थापनाका लागि अपिल गरेदेखि राजावादीहरूले केही न केही गरिरहेका छन्, त्यसै विषयमा नेताहरूका बीचमा छलफल, भेटघाट भइरहेको छ ।’
राजसंस्था कुनै हालतमा नफर्किने भन्दै ठूला राजनीतिक दलका नेताहरूले सार्वजनिक रूपमा प्रतिवाद गर्दै आएका छन् । साथै, पार्टी बैठकबाट त्यसलाई प्रतिवाद गर्नेदेखि पूर्वराजा ज्ञानेन्द्र शाहलाई बढी चुरीफुरी नदेखाउन प्रमुख दलका नेताहरूले चेतावनीसमेत दिइरहेका छन् । राजधानी दैनिकबाट
Leave a Reply