काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले मिडियाकर्मीहरुको व्यवहार गैरजिम्मेवार भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद थापाले सो कुरा बताएका हुन् । सांसद थापाले मिडियाकर्मीको व्यवहार गैरजिम्मेवार भएको भन्दै असन्तुष्टि जनाए।
संसद सचिवालयको ध्यानाकर्षण गराउँदै उनले पत्रकारहरूले आफूमाथि ‘तपाईं हनुमान हो ?’ भन्ने प्रश्न गरेको भन्दै आपत्ति जनाए।
सांसद थापाले पत्रकारहरूले मर्यादा, सामाजिक शिष्टाचार, कानुन र संविधानको सीमा नाघेर जनप्रतिनिधिलाई आरोपित गर्ने शैलीमा प्रश्न गर्ने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे।
सांसद थापाले भने, ‘सांसदहरूमाथि कस्ता प्रश्न सोध्ने भन्ने विषय संविधान र कानुनबमोजिम हुनुपर्छ कि पर्दैन रु कसैलाई परिचालित भएर आरोप लगाउने अधिकार पत्रकारलाई छ कि छैन ?’
सांसद थापाले विशेष रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूले ‘तपाईं हिटलर हो ?’भनेर सोधेको विषयमा पनि गम्भीर असन्तोष व्यक्त गरे।
उनले यस्ता प्रश्नहरू असंवैधानिक र असंसदीय रहेको दाबी गर्दै पुनः दोहोरिन नदिन संसद सचिवालयले आवश्यक पहल गर्नुपर्ने धारणा राखे।