काठमाडौं । आफ्टर स्कुल नेपालको आयोजनामा ‘द रिडर्स मिट’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम टेक्सपायर कलेज नयाँ बानेश्वरमा भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा २०० भन्दा बढी पुस्तकप्रेमी, लेखक तथा साहित्य अनुरागीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा साहित्य, कविता तथा पठन संस्कृतिको प्रवर्द्धनमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा २०८० सालको मदन पुरस्कार विजेता मोहन मैनाली प्रमुख अतिथि रहेका थिए ।
विशेष अतिथिका रूपमा 'नेपाल पोएट आइडल सिजन-२' का फाइनलिस्ट मोहित जोशी तथा बुक हिल पब्लिकेसनका संस्थापक भूपेन्द्र खड्का सहभागी थिए।
कार्यक्रममा पुस्तक संस्कृति, साहित्यिक सिर्जना, कविता तथा पठन संस्कृतिको प्रवर्द्धनसम्बन्धी गहन छलफल गरिएको थियो। साथै, नृत्य, गीत तथा कविता प्रतियोगिताजस्ता सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा आफ्टर स्कुल नेपालका संस्थापक विश्व विजय खड्काले नेपालमा पठन संस्कृतिको अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरिएको बताए ।
शिक्षाको गुणस्तर सुधार गर्न तथा ‘स्टडी इन नेपाल’ अभियानलाई प्रवर्द्धन गर्न ‘द रिडर्स मिट’ महत्त्वपूर्ण हुने उनको भनाई छ ।

उनका अनुसार, प्रत्येक महिनाको पहिलो शनिवार नियमित रूपमा ‘द रिडर्स मिट’ आयोजना गरिने छ। कार्यक्रममा लेखक, कवि, विद्यार्थी तथा पुस्तक प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अब आउने चैत महिनामा यही टोलीले ‘द रिडर्स समिट–२०८१’ पनि आयोजना गर्ने तयारी गरिरहेको छ।