रौतहट । रौतहटमा करेन्ट लागेर आमाछोराको मृत्यु भएको छ ।
परोहा नगरपालिकामा विद्युतीय मोटरबाट करेन्ट लागेर आमाछोराको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते दुवैको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा परोहा नगरपालिका–७ नरकटिया टोलका ३५ वर्षीया ललितादेवी साह र उनका १८ वर्षीय छोरा अर्जित साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो धारामा जडान गरिएको मोटर चलाएर लुगा धुने क्रममा आमा छोरालाई करेन्ट लागेको थियो ।
दुवैलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा बुधबार राति मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।