काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राजसंस्था स्थापना नगरी नेपाली जनताले सुख र शान्ति नपाउने दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले यस्तो भनेका हुन्।
उनले भने- 'नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्।'
मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् ।
प्रसाईंले भने- 'राप्रपा पार्टी भनेको राजा र धर्म साट्ने, भोट लिने सांसद बन्ने, भत्ता सत्ता खाने गाडी चढ्ने मात्र हो, विकास र जनतासँग के मतलब।'
उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आइआरआईको सदस्य भएको आरोप लगाउँदै देशका धेरै नेताहरू गद्दार रहेको टिप्पणी समेत गरेका छन्।
तर, प्रसाईले कुनै गद्दारी बिना राजसंस्था फर्काउनका लागि धवलशमशेर राणासँग मिलेर नयाँ पार्टी खोल्न लागेको बताए।
नेता राणा र आफूबीच लक्ष्यसहितको सहकार्य भएकाले आफूहरुले हिन्दु अधिराष्ट्र कायम गर्ने संकल्प लिएको प्रसाईंको भनाई छ ।