Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

दीपक भट्टको बयान नसकिँदा न्यायिक हिरासतमा, सुलभ अग्रवाल अस्वस्थ !

दीपक भट्टको बयान नसकिँदा न्यायिक हिरासतमा, सुलभ अग्रवाल अस्वस्थ !

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा चलाइएका व्यवसायी दीपक भट्टलाई बयान प्रक्रिया नसकिएपछि विशेष अदालतले न्यायिक हिरासतमा पठाएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीश उमेश कोइराला र विदुर कोइरालाको इजलासमा शुक्रबार भट्टको बयान लिइएको थियो ।

तर बयान पूरा हुन नसकेपछि अदालतले बाँकी प्रक्रिया सोमबार निरन्तर गर्ने जनाएको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

यसैबीच, सह–प्रतिवादी सुलभ अग्रवालको बयान भने स्वास्थ्य समस्या देखिएपछि स्थगित गरिएको छ। बयानकै क्रममा अस्वस्थ भएपछि उनको बयान रोकिएको हो। उनलाई पनि न्यायिक हिरासतमा पठाइएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टसँगै शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोरलाई प्रतिवादी बनाइएको छ। सन्दीप चाचन दलाल नम्बर ५५ रहेको ब्रोकरेज कम्पनीका अध्यक्ष हुन्।

अनुसन्धान निकायका अनुसार हिमालयन रि–इन्स्योरेन्स लगायत विभिन्न कम्पनीहरूको रकम दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन तथा शुद्धीकरण गरिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतमा दायर गरेको अभियोगपत्रमा भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ।

अभियोगपत्रअनुसार आर्थिक वर्ष २०७४र७५ मा आफ्नो स्वामित्वमा रहेको घरजग्गाको पुनःमूल्यांकन गरी ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढी रकम सम्पत्तिमा थप देखाइएको आरोप छ।

त्यस्तै, भट्टसँग सम्बन्धित इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७/७८ मा ४५ करोड रुपैयाँ तथा २०७९/८० मा थप ९ करोड ५० लाख रुपैयाँ पुँजी वृद्धि गरिएको देखिएको विभागको दाबी छ।

यस प्रकरणमा दीपक भट्ट चैत १९ गते पक्राउ परेका थिए भने शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ गते पक्राउ परेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077