काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको र करका दर चुहावट गरेको आरोपमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् ।
बैठकमा उनले भने–‘करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ? सचिवलाई पनि थाहा हुँदैन । अर्थमन्त्री र अर्थमन्त्रीज्यूले तोकेका व्यक्तिहरुलाई मात्रै थाहा हुन्छ । सूचना लिक भएर ७५३ वटा बीवाइडी गाडी केरलाबाट १४ गते भन्सार पास हुन्छन्, २० गते गाडी आउँछ । अनि सरकारले छानविन समिति बनाउँछ । आफैं छानविन समिति बनाउने र कर्मचारीलाई डाम्न खोज्ने ?’
करका दर चुहावट गर्नेलाई राजद्रोहको मुद्दा चल्नुपर्ने शाहीको भनाइ छ । उनले यसका विषयमा सरकारले नभई संसदले छानबिन समिति बनाउनुपर्ने बताए । सुशासनको माग गरेर आएको सरकारले कुशासनको बाटो नलिन उनले चेतावनी दिए ।
उनले भने–‘अर्थमन्त्रीमाथि संसदीय छानविन हुनुपर्छ, यो राजद्रोह हो । यस्तो गर्न पाईंदैन ।’
त्यसैगरी एमालेले पनि करको दर हेरफेर गरेकोप्रति आपत्ति जननाएको छ । नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक विधेयकको १६ पृष्ठ गायब भएको र करका दर हेरफेर भएको भन्दै अर्थमन्त्रीको जवाफ माग गरिन् ।