काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा सर्वसाधारण तथा पर्यटकलाई दुःख दिने गतिविधिमा संलग्न रहेको आरोपमा ९ जना विदेशी नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बुधबार प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका विदेशी नागरिकहरूले ठमेल क्षेत्रमा हिँडिरहेका स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गर्ने, अनावश्यक रूपमा पछ्याउने तथा दुःख–हैरानी दिने गरेका थिए।
उनीहरूको गतिविधिबारे पटक–पटक गुनासो आएपछि प्रहरीले निगरानी बढाएर नियन्त्रणमा लिएको जनाएको छ।
ठमेल जस्तो अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रमा यस्ता गतिविधि बढ्दा पर्यटकको सुरक्षामाथि प्रश्न उठ्ने भन्दै प्रहरीले सार्वजनिक स्थानमा अश्लील तथा हैरानीपूर्ण गतिविधि नगर्न चेतावनी दिएको छ।