काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति सांकेतिक विरोध जनाउँदै लालटिन बाल्ने निर्णय गरेको छ।
सोमबार बसेको बारको आकस्मिक बैठकले अदालतमा रिट निवेदन दर्ता गर्नसमेत कठिन अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै न्याय प्रणालीप्रतिको चिन्ता सार्वजनिक गरेको हो।
बारका अध्यक्ष विजयप्रसाद मिश्र का अनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गरिनेछ।
‘अदालतमा न्याय खोज्न जाँदा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले कहाँ न्याय पाउने रु न्याय खोज्न कहाँ जाने ?’ अध्यक्ष मिश्रले प्रश्न गर्दै न्यायपालिकाभित्र देखिएको अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।
बारले अदालतमा सर्वसाधारणको पहुँच सहज, पारदर्शी र न्यायोचित हुनुपर्नेमा जोड दिँदै न्यायिक प्रक्रियामा अवरोध उत्पन्न हुनु लोकतान्त्रिक प्रणालीकै लागि चिन्ताको विषय भएको उल्लेख गरेको छ।