काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाएपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने भएका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुखले संवादको पहल गर्न लागेका हुन् ।
बुधबार तेस्रो पटकसम्म पनि प्रतिनिधिसभा बैठक सुचारु हुन नसकेपछि विपक्षी सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा प्रधानमन्त्रीलाई अनिवार्य उपस्थित गराउन सभामुखलाई रुलिङ गर्न माग गरेका थिए।
तर सभामुख अर्यालले आफूलाई प्रधानमन्त्रीलाई संसद् बैठकमा उपस्थित गराउने मिति तोक्ने कानुनी अधिकार नभएको स्पष्ट पारे ।
बैठकमा उत्पन्न अवरोधपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग छलफल गरी समस्याको समाधान खोज्ने र आगामी बैठकको विषयमा जानकारी गराउने बताएका छन् । त्यसअघि पनि दलहरूसँगको परामर्शका क्रममा उनले प्रधानमन्त्रीसँग संवाद गर्ने जानकारी दिएका थिए।
सदनभित्र निरन्तर देखिएको अवरोधका कारण नीति तथा कार्यक्रममाथिको छलफल अघि बढ्न नसक्दा संसदीय प्रक्रिया नै प्रभावित बनेको छ।