एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि बेइजिङ पुगेका छन् । ट्रम्पलाई चिनियाँ उपराष्ट्रपति हान झेङले स्वयं विमानस्थल पुगेर स्वागत गरेका हुन् ।
स्थानीय समयअनुसार बुधबार साँझ चीन पुगेका ट्रम्पको स्वागतमा भव्य कार्यक्रम आयोजना गरिएको थियो ।
निलो र सेतो पोशाकमा सजिएका करिब ३०० चिनियाँ बालबालिकाले अमेरिकी र चिनियाँ झण्डा फहराउँदै ट्रम्पलाई स्वागत गरेका थिए ।
बालबालिकाले मन्डारिन भाषामा “स्वागत छ, हार्दिक स्वागत छ” भन्दै अभिवादन गरेका थिए ।
चिनियाँ राष्ट्रपति सी जिङपिङको निर्देशनमा स्वागत टोलीको नेतृत्व गर्न आएका हान झेङ ट्रम्पसँगै रातो कार्पेटमा हिँडेका थिए ।
स्वागत समारोहपछि ट्रम्पले हात उठाएर अभिवादन गर्दै मोटरकेडतर्फ प्रस्थान गरेका थिए ।