एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग वार्ता गर्ने घोषणा गरेका छन् ।
भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि क्षेत्रीय शक्ति सन्तुलन बदलिएको बेला ट्रम्पको यो अभिव्यक्तिले क्यारेबियन र ल्याटिन अमेरिकी राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।
ट्रम्पले मंगलबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै क्युबालाई ‘असफल कम्युनिस्ट राष्ट्र’को संज्ञा दिएका हुन् ।
उनले क्युबाले सहयोगको संकेत गरिरहेको दाबी गर्दै आफू वार्ताका लागि तयार रहेको बताएका छन् । यद्यपि उनले वार्ताको स्वरूप वा सम्भावित एजेन्डाबारे विस्तृत खुलासा गरेका छैनन्।
वासिङ्टनमा ट्रम्प प्रशासनले क्यारेबियन क्षेत्रमा अमेरिकी प्रभाव पुनःस्थापित गर्न आक्रामक रणनीति अघि बढाएको विश्लेषण भइरहेका बेला क्युबामाथि दबाब बढाउने प्रयास तीव्र बनेको छ ।
यसै महिनाको सुरुवातमा ट्रम्पले फ्लोरिडाको तट नजिक रहेको क्युबा ‘अमेरिकाले लगभग तुरुन्तै नियन्त्रणमा लिन सक्ने’ टिप्पणी गरेका थिए ।
उनले भेनेजुएलामा गरिएको अमेरिकी सैन्य हस्तक्षेपपछि मदुरो सत्ताच्युत भएको उदाहरण दिँदै क्युबा अर्को लक्ष्य बन्न सक्ने संकेतसमेत गरेका थिए।