एजेन्सी । इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने भएका छन्।
चिनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले आगामी मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको चिनियाँ विदेश मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।
राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रिलको शुरुमा भ्रमण गर्ने कार्यक्रम तय भएको पनि इरान युद्धका विषयमा ध्यान केन्द्रित गर्न उनले यसअघि आफ्नो भ्रमण स्थगित गरेका थिए।
भ्रमणका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा मध्य(पूर्वको वर्तमान स्थिति र विशेष गरी स्ट्रेट अफ हर्मोजुको विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको छ।
यसैगरी वासिङ्टन र बेइजिङबीच व्यापार तनाव कम गर्ने उद्देश्यका साथै ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिने अपेक्षा गरिएको छ ।
ट्रम्पको दोस्रो कार्यकालको पहिलो चीन भ्रमण हो । सन् २०१७ पछिको पहिलो चीन भ्रमणमा ट्रम्पले बेइजिङस्थित ‘टेम्पल अफ हेभन’को पनि भ्रमण गर्ने छन् ।
हालै इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि चीनको भ्रमण गरेका थिए। यसअघि चीनले हर्मोज जलडमरू विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग भएको उल्लेख गर्दै यसको नाकाबन्दी गर्ने कार्य सही निर्णय नहुने स्पष्ट पारेको थियो।
इरानले अमेरिका र इजरायली आक्रमणको जवाफमा विश्वव्यापी ऊर्जा ढुवानीको प्रमुख मार्ग स्ट्रेट अफ होर्मुज बन्द गरेको छ, जसका कारण विश्व अर्थतन्त्रमा असर परेको छ। विशेष गरी पश्चिम एसियाबाट हुने आयातमा निर्भर रहेका एसियाली देशहरू यसबाट नराम्ररी प्रभावित भएका छन्।
चीनले भने युद्धको अन्त्य चाहेको बताए पनि इरानको तेल क्षेत्रमा वासिङ्टनले लगाएको एकपक्षीय प्रतिबन्धलाई मान्यता दिन अस्वीकार गर्दै आएको छ।