काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कायम मुकायम प्रधानन्यायाधी सपना प्रधान मल्ललाई चुनौति दिएका छन् ।
आफ्नो गर्धन सर्वोच्च अदालतमै रहेको भन्दै उनले हतियार चलाउन मल्ललाई चुनौति दिएका हुन् ।
कानून दिवसको कार्यक्रममा शनिबार कामु प्रधानन्यायाधीश मल्लले दिएको अभिव्यक्तिमा संकेत गर्दै रास्वपाका सभापति लामिछानेले यस्तो अभिव्यक्ति दिएका हुन् ।
ललितपुरमा आइतबार आयोजित रास्वपा सांसदहरुको प्रशिक्षणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने–‘धेरै टसल गरेर र चुनौतीपूर्ण अभिव्यक्ति दिएर के लाभ हुन्छ र ? म यहीं छु । मेरो गर्दन त्यहीं छ । हतियार चलाइदिन आग्रह गर्दछु । अन्यायमा हामी पनि प¥यौं होला । चिच्चाई चिच्चाइ न्याय पाउँ भन्न मन थियो होला । तर अदालतप्रति आसा र भरोसा छ भनिरहेका छौं ।’
प्रधानन्यायाधीशमा सिफारिस भएका ६ जनामध्ये संविधानले दिएको अधिकारअन्तर्गत योग्य एक जनालाई छानिएको उनको दावी थियो ।
उनले भने–‘अहिले धेरै आवाज न्यायालयको सुनिएको छ । सरकारले असंवैधानिक काम ग¥यो । संविधान मिचेको सुनेका छौं । संविधान अभ्यासमा गइसकेको अवस्थामा रास्वपा बनेको हो तर संविधानको भावनाअनुसार नै रास्वपा अघि बढ्छ ।’
संवैधानिक परिषद् र प्रधानन्यायाधीशको नियुक्तिलाई लिएर मूर्धन्य व्यक्तिहरु तथा राजनीतिक दलका शिर्ष नेताहरुले पनि परम्पराभन्दा बाहिर गएको भन्दै प्रश्न उठाएकोप्रति उनले आक्रोश पोखे ।
संवैधानिक परिषद्मा ६/६ जनाको नाम किन सिफारिस गरियो ? कानून र संविधान मिचिएको भए सिफारिस गर्दै नै मिचियो होला नि त !
उनले प्रश्न गर्दै भने–‘६ जना न्यायाधीश सक्षम हुनुहन्छ, उनीहरुमध्ये एक जनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीश बनाउन सक्ने कुरा संविधानमै उल्लेख छ । सोही अनुसार प्रधानन्यायाधीशमा नियुक्ति गर्ने प्रक्रिाया अगाडि बढाइएको हो । यो कसरी संविधान विपरित हुन्छ ?’
उनले संविधानमै ६ जनाको साटो वरिष्ठतम् जो छ उसैलाई सोझै नियुक्त हुने भनिन्थ्यो होला नि ! किन त्यो भनिएन ? भन्दै प्रश्न पनि गरे ।
‘६ जना न्यायाधीशहरुको सिफारिस रास्वपाको सरकारले गरेको थिएन । यसरी आएका नामबाट छानिएको हो । योग्यताहरुमध्येबाट छानिन्छ भनेर संविधानले भनेकाले त्यही गरेको हो,’ उनले भने–‘परम्परा भत्काइयो भन्ने कुरा छ । त्यही परम्परामा जाने भएको भए किन अहिलेको सरकार आवश्यक हुन्थ्यो र ।’