काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हालै संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसबारे प्रतिक्रिया जनाएका छन् ।
आज पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका लामिछानेले प्रधानन्यायाधीशको विषयमा रिस पोख्ने भए आफू तयार रहेको बताएका छन् ।
कानुन दिवसको कार्यक्रममा शनिबार कामु प्रधानन्यायाधीश मल्लले दिएको अभिव्यक्तिमा संकेत गर्दै सभापति लामिछानेले आफ्नो गर्धन सर्वोच्च अदालतमै रहेको भन्दै हतियार चलाउन भनेका हुन् ।
मल्ल लक्षित टिप्पणी जनाउँदै रविले भने- ‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ । चलाइदिनुस् हतियार । धेरै टसल गरेर र चुनौतीपूर्ण अभिव्यक्ति दिएर के लाभ हुन्छ र ?'
त्यस्तै उनले संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिमा कुनै असंवैधानिक काम नगरेको समेत जिकिर गरे । उनले न्याय परिषद्ले ६ जनाको नाम सिफारिस गरेको र त्यसैका आधारमा संवैधानकि परिषद्ले प्रधानन्यायाधीश नियुक्त गरेको बताए ।