काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले जेनजी युवाहरूको अपेक्षाअनुसार सरकारले तत्काल रोजगारी उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले घाइते तथा बेरोजगार युवाहरू रोजगारीको माग लिएर मन्त्रालयमा दैनिक आउने गरेको तर उनीहरूलाई ठोस रोजगारी दिन नसकिएको बताएका हुन् ।
उनका अनुसार मन्त्रालयको सीमित स्रोत, स्पष्ट रोजगारी सिर्जनाका कार्यक्रमको अभाव र बजेट कटौतीका कारण समस्या झन् जटिल बनेको छ। 'उहाँहरू रोजगारी खोज्दै आउनुहुन्छ, तर हामीसँग अहिले आश्वासन बाहेक दिन सक्ने अवस्था छैन,' मन्त्री यादवले भने।
मन्त्री यादवले आन्दोलनका क्रममा घाइते भएका युवाहरूको अवस्थाप्रति संवेदनशीलता देखाउँदै कतिपयको अंगभंग भएको, कसैलाई गोली लागेको जस्ता गम्भीर अवस्था रहेको उल्लेख गरे। तर उनीहरूका लागि प्रत्यक्ष रोजगारी सिर्जना गर्ने स्पष्ट संयन्त्र मन्त्रालयसँग नरहेको उनले बताए।
उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को मुख्य भूमिका प्रत्यक्ष रोजगारी सिर्जना नभई सीप विकास, प्लेसमेन्ट र रोजगारदातासँग जोड्ने मात्रै भएको स्पष्ट पारे।