काठमाडौं । सरकारले काठमाडौंभर रहेका सुकुम्बासी बस्तीहरू वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गराउने निर्णय गरेको छ ।
यसअघि थापाथली, मनोहरा र गैरीगाउँ क्षेत्रका बस्ती हटाइसकेको सरकारले अब उपत्यकाभरका बाँकी बस्तीहरूमा अभियान सञ्चालन गर्न लागेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनाअनुसार नदीकिनार, सरकारी, पर्ति, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरू खाली गराइनेछ। प्रशासनले यस कदमलाई मानवीय उद्धार तथा सम्भावित विपद् जोखिम न्यूनीकरणका रूपमा व्याख्या गरेको छ।
सूचनामा भनिएको छ, 'मानवीय रूपमा उद्धार गर्न तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै काठमाडौं जिल्लाभर वैशाख १८ गते बिहान ७:०० बजेदेखि विभिन्न स्थानबाट एकैपटक बस्ती खाली गर्ने कार्य सुरु हुनेछ।'
प्रशासनले बस्तीमा रहेका बिरामी, अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा बालबालिकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।
साथै, स्थानान्तरणका क्रममा आवश्यक परेमा प्रहरीसँग समन्वय गर्न र व्यक्तिगत सरसामान, लत्ताकपडा तथा पशुपन्छी समयमै सुरक्षित स्थानमा सार्न अनुरोध गरिएको छ।

