काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा दायर भएको छ।
राजस्व अनुसन्धान विभागले उनकी पत्नी एलिना बस्नेतलाई समेत प्रतिवादी कायम गर्दै बुधबार सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
विभागले दम्पतीविरुद्ध कुल ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ बिगो दाबी गरेको छ।
आरोपअनुसार विदेशी विनिमय सम्बन्धी कसुरबाट आर्जित रकमलाई अवैध रूपमा शुद्धीकरण गरिएको निष्कर्षसहित मुद्दा अघि बढाइएको हो।
यसअघि पनि विभागले १४ असोज ०८१ मा दुवैजनाविरुद्ध विदेशी विनिमय कसुरमा ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमै मुद्दा दायर गरेको थियो।
सोही कसुरबाट आर्जित सम्पत्तिमाथि थप अनुसन्धानपछि अहिले छुट्टै रूपमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको विभागले जनाएको छ।
आरोपपत्रमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३(१) को खण्ड (क), (ख) र (ग) अन्तर्गतका कार्यहरू गरेको पुष्टि भएको उल्लेख छ।
सम्पत्ति शुद्धीकरणतर्फ विकल पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ र एलिना बस्नेतविरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बिगो दाबी गरिएको छ।