काठमाडौं । काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीका प्रभावित परिवारहरूको दर्ता प्रक्रिया सुरु भएको छ।
सरकारले बस्ती हटाउने अभियानसँगै प्रभावित नागरिकहरूको व्यवस्थापनका लागि तथ्यांक संकलन गर्न सुरु गरिएको हो ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूले रंगशालामा थापाथली, सिनामंगल र मनोहरा क्षेत्रका सुकुम्बासीहरूको विवरण संकलन गरिरहेका छन्।
समितिका आयोजना उपनिर्देशक विदुर झाका अनुसार हालसम्म ३४० परिवार दर्ता भइसकेका छन्।
सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन अभियान चलाइएको छ । शनिबारदेखि उपत्यकाका विभिन्न बस्तीहरुमा डोजर लगाएर भत्काउने क्रम जारी छ ।
शनिबार थापाथलीस्थित सुकुमबासी, सिनामंगलस्थित सुकुमबनासी र तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलेको थियो ।
आज मनोहरा सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ।
सरकारले सुकुमबासीलाई तत्कालका लागि नागार्जुन, कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको व्यवस्था गरेको छ भने शनिबार र आइतबारका लागि खाद्य व्यवस्थापनको जिम्मा लिएको छ।
साथै सुकुम्बासीहरूलाई स्क्रिनिङ र शारीरिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।