काठमाडौं। अव्यवस्थित बस्तीबाट दशरथ रंगशालामा ल्याइएका सुकुम्बासीहरूलाई स्क्रिनिङ र शारीरिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।
अहिलेसम्ममा कम रक्तचाप भएका चार पुरुष दुई महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका दुई पुरुष, टाउको दुखाइ भएका १८ पुरुष र ६ महिला, गर्भवती दुईजना, काटेर चोटपटक लागेका एकजना र विभिन्न अरू समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ।
यसैगरी मनोसामाजिक परामर्शका लागि बहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरूले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएका छन्।
यस्तै पारिवारिक तथा रोजगारीका कारण मनमा धेरै कुरा खेलाउने, बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिनेजस्ता विषयमा धेरै चिन्ता देखिएको, स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालले जानकारी दिए।
साथै सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरलाई स्नेहा केयर, क्याटलगायत संस्थाहरुले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गरिरहेको छ।
सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन अभियान चलाइएको छ । शनिबारदेखि उपत्यकाका विभिन्न बस्तीहरुमा डोजर लगाएर भत्काउने क्रम जारी छ ।
शनिबार थापाथलीस्थित सुकुमबासी, सिनामंगलस्थित सुकुमबनासी र तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलेको थियो ।