कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध गरेका छन् ।
पालिकाहरूले किसानले गहुँ बाली भित्र्याइसकेपछि खेत सरसफाइ गर्ने जनाउँदै आगो लगाउने कार्य नगर्न सूचना गरेर अनुरोध गरेका छन् ।
खेतबारीमा आगो लगाउँदा माटो सुरक्षामा असर पर्ने, वातावरण प्रदूषित हुनुका साथै बस्तीमा आगलागीको जोखिम बढ्ने भएकाले आगो नलगाउन सूचना गरेका हुन् ।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा किसानले गहुँ भित्र्याउने काम सकिएको छ। बारीमा रहेका गहुँका नल सफाइ गर्न किसानले खेतबारीमा आगो लगाउँदा धनजनको क्षतिको घटना हुने भएकाले सचेत हुन कैलालीको जानकी गाउँपालिकाले आग्रह गरेको छ।
गाउँपालिकाले गहुँ बाली भित्र्याउने क्रममा निस्किएको नलरभुसा खेतमा नजलाई गौशालामा रहेका गाईवस्तुको आहाराका लागि निःशुल्क उपलब्ध गराइदिन अनुरोध गरेको विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसीले जानकारी दिए।
टीकापुर नगरपालिका–२ मा रहेको गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिका क्षेत्रका छाडा वस्तुभाउ राख्ने गरिएको छ। गौशालामा रहेका गाईवस्तुलाई आहारा अभाव भएका बेला किसानले खेतबारीमा आगो लगाएर आहारा नष्ट गर्नुभन्दा पशुलाई उपलब्ध गराउनु असल कर्म हुने जानकी–४ का रतन धामीको भनाइ छ ।