'मैले प्रहरीलाई अदालतबाट नछुट्ने गरी तयारी गर्नुस् भनिसकेको छु'
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भीआईपीलाई अदालतले छाडेकोप्रति असन्तुष्टि पोखेका छन् ।
बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु खटिएर समातेको तर अदालतले छाडेकोमा असन्तुष्टि पोखेका हुन् ।
२३ र २४ भदौको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न भन्दै प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । तर, अदालतलको आदेशपछि उनीहरू छुटेका थिए ।
आफूले अहिले विगतको घटनाबारे सिकेको भन्दै अदालतले नछाड्ने गरी कारबाही कसरी गर्ने भन्ने विषयमा अध्ययन थालेको उनले बताए ।
'रातभर दुई आईजीपी म बसेर काम गर्यौं । अहिले स्वाट्ट अदालतले छाडिदियो । हाम्रो दुस्ख खेरे गयो । विभिन्न कानुनका कुराहरू आउँदा रहेछन् । अहिले म यसरी काम गरेको छु आफैं कानुन अध्ययन गर्न थालेको छु । ‘अब भोलिका दिनमा समाउँदा यो कारण, यो कानुनले छाड्न मिल्दनै भनेर कम्तीमा भन्न त पाइयोस्,’ र मैले प्रहरीलाई अदालतबाट नछुट्ने गरी तयारी गर्नुस् भनिसकेको छु,' उनले भने ।
अहिले यही कारणले गर्दा भीआईपीमाथिको कारबाहीमा केही सुस्त जस्तो देखिए पनि गल्ती गर्नेलाई कारबाही गर्न भने नरोकिने उनले बताए ।
साथै उनले गल्ती गर्नेलाई अनुहार नहेरी कारबाहीको दायरामा ल्याउने काम भइरहेको समेत बताए ।