Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिमा शिक्षित पात्रहरूको आगमन हुनु उत्साहको विषय: पूर्वराजा शाह

राजनीतिमा शिक्षित पात्रहरूको आगमन हुनु उत्साहको विषय: पूर्वराजा शाह

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा युवाहरुको संलग्नता बढ्दै जानु उत्साहको विषय भएको बताएका छन् । 

नयाँ वर्ष २०८३ को अवसरमा आज सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै यस्तो भनेका हुन् ।

पूर्वराजा शाहले राजनीतिमा शिक्षित र आधुनिक प्रविधिको ज्ञान भएका पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

'राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ,' उनले भनेका छन् ।

यद्यपि, सधैँ विकल्पको खोजीमा लागेर देश प्रयोगशाला बन्न पुगेको उनको ठहर छ ।


‘वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो । दलदलको खलबलमा हामी धेरै दगुरियौं । तर राष्ट्रको श्री वृद्धिमा हामी निकै पछि पर्‍यौं । सधैं प्रयोग, अभ्यास र विकल्पको खोजीमा मात्रै लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो,' उनले थप भनेका छन् ।

उनले विगतका वर्षहरुमा विकासका दृष्टिले देश झनै कमजोर भएकोप्रति चिन्ता पनि व्यक्त गरेका छन् ।

यस्तो छ उनको पुरा भनाइ
प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, हामी नयाँ वर्ष २०८० मा आइपुगेका छौं। नव वर्षारम्भको यो परिवर्तनको पुनित अवसरमा देश भित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरूलाई सुख र शान्तिको मङ्गलमय शुभकामना।

समयको प्रवाहसँगै हामीले हाम्रो देश र हाम्रो समाजलाई प्रगति पथमा अघि बढाउँदै जानु पर्दछ। विगतका कमी कमजोरी र त्रुटिलाई सच्याउँदै र बाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्यतर्फ लम्किनु पर्दछ। तब नै नयाँ वर्षको नवगत समयको अर्थ रहन्छ।

बितेका कतिपय वर्ष वाञ्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो। राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हेर्यौँ, तर त्यो कोरा परिवर्तन मात्र भयो। दलदलको खलबलमा त हामी धेरै दगुरियौँ, तर राष्ट्रको श्री वृद्धिमा हामी निकै पछाडि पर्यौँ। सदैव प्रयोग, सदैव अभ्यास र सदैव विकल्पको खोजीमा मात्र हामी लाग्यौँ। फलस्वरूप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो। स्थिरता, निरन्तरता र दृढता कता कता हराएर गयो। विधि, पद्धति, व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ।

राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पुस्ताको संलग्नता बढ्दै जानु उत्साहको विषय हो। पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ।

आज हाम्रो देश चौतर्फी समस्याको चाङमा छ। यो बेला नेपाली जनताको आशा, अभिलाषा पनि उत्तिकै छन्। यो स्थितिमा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरू र बाह्य मित्र शक्तिहरूको सहयोग सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ। आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ। नयाँ वर्षमा जिउ धनको सुरक्षा, अत्यावश्यक वस्तु र स्रोत साधनको संरक्षण एवं जीवन जिउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु सुरक्षाका अङ्ग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने पीर, प्रकोप विषयमा हाम्रो आन्तरिक सुरक्षालाई चुस्त, दुरुस्त बनाउनु आवश्यक देखिन्छ।

आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई जोगाउने, हाम्रो उत्पादित आयातित वस्तुको जोगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिनेतर्फ राज्यको गहिरो ध्यान पुग्नुपर्ने देखिन्छ। आम नागरिकले कुनै प्रकारको शारीरिक, मानसिक, भौतिक तथा जीवनयापनको मामलामा त्रास, पीडा, अभावको अनुभव गर्न नपरोस्। हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भरताबाट र स्वाधीन भएर पराधीनताबाट देशलाई जोगाउनु छ। देशको स्रोत शक्ति हो, सही उपयोग भएमा नै समाजको कल्याण हुन्छ। अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्द्धन भयो भने नै देशको गौरव बढ्दछ। त्यसैले यिनै मूलभूत काम कर्तव्यतर्फ अब हाम्रो पाइला अघि बढ्नु पर्छ।

निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौँ। परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन। जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउनु विलम्ब नगरौँ। संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौँ।

नेपाल शान्तिको भूमि बनोस्, उन्नतिको मुलुक बनोस् अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस्। सबै नेपालीले न्याय, शान्ति र सुख पाउन, यही हाम्रो सदिच्छा हो। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्। जय नेपाल।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077