काठमाडौं । चार महिनाको झापा बसाईपछि काठमाडौं आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर पुगेकाक छन् ।
राजावादीहरुले एयरपोर्ट बाहिर गरिरहेको प्रदर्शनमा सहभागिता जनाउन अभियन्ता प्रसाईँ पनि पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि निषेधाज्ञाको बाबजुद विमानस्थल बाहिर प्रदर्शन भइरहेको छ ।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरिसकेका छन् । उनी केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने भएका छन् ।
राजावादीहरूले भेला भएपछि उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले विमानस्थल र निर्मल निवासमा उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।
सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। त्यसका बाबजुद पनि राप्रपाका नेताहरू पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगेका छन्।
राप्रपाले पूर्वराजा आउने कार्यक्रमलाई लक्ष्य गरेर निषेधाज्ञा लगाएको भन्दै त्यसलाई नमान्ने बताइसकेको छ । पूर्वराजालाई स्वागत गर्ने कार्यक्रममा नेता कमल थापा, महामन्त्री धवलशम्शेर राणा लगायतका नेताहरू सहभागी हुने भनिएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि निषेधाज्ञा मान्य नहुने बताएका छन्। उनले फेसबुकमा लेखेका छन्–‘जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफै विथोल्न लागेको हो रु संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न थालियो भने कसले मान्छ त्यस्ता निषेधाज्ञा ?’
यता, नेता कमल थापाले पनि आफू विमानस्थलमा उपस्थित हुने बताएका छन्। उनले पनि फेसबुकमा लेखेका छन्–‘विमानस्थलको सुरक्षा गर्नु सरकारको कर्तव्य हो। त्यसमा कसैले आपत्ति गर्नु जरुरी छैन। तर विमानस्थल बाहिर शान्तिपूर्णरुपमा उपस्थित भएर राजाको स्वागत गर्न कसैले छेक्न सक्दैन। हामी स्वागतमा जान्छौं। तपाईँको पनि उपस्थितिका लागि अनुरोध गर्दछु ।’
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले पनि विमानस्थलमा आउन आह्वान गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने देश निर्वाचनमा गइसकेको अवस्था र आचारसंहिता पनि लागू भएको बेलामा यस्ता भेला र प्रदर्शनका लागि भएको आह्वानप्रति काठमाडौं प्रशासनले ध्यानाकर्षण भएको जनाउँदै निषेधाज्ञा जारी गरेको जनाएको छ ।
गत वर्ष फागुनमा पनि पूर्वराजा शाह पोखराबाट फर्किदा राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए । पूर्वराजा शाहलाई स्वागत गर्ने नाममा राजावादीहरूको शक्ति प्रदर्शन गरेका हुन् ।