काठमाडौं । १३ दिनपछि हिरासतमुक्त भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार नभएका कारण उनलाई केही दिन अस्पतालमै राखिने भएको छ ।
पारिवारिक स्रोतका अनुसार, ओलीको पित्तथैलीको शल्यक्रिया आगामी सोमबार गर्ने तयारी छ । त्यसैले प्रहरीले छाडे पनि अस्पतालले भने डिस्चार्ज नदिने भएको हो ।
चैत १४ गते बिहान सबेरै भक्तपुरको गुन्डुस्थित निवासबाट पक्राउ परेका उनलाई काठमाडौं प्रहरी परिसर हुँदै शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो ।
ओलीको शिक्षण अस्पतालमा स्वास्थ्य जाँच गर्दा ‘मल्टिपल समस्या’ देखिएपछि चिकित्सकले शिक्षण अस्पतालमै भर्ना गरेका थिए।
ओलीको सुगर अस्वाभाविक बढेको र थाइराइडको पनि समस्या देखिएको थियो । पत्थरी समेत देखिएपछि चिकित्सकले शल्यक्रिया गर्दाका जोखिमबारे परामर्श गर्न समय लागेको थियो ।
पक्राउपछि तीन पटक गरी १२ दिन म्याद थप गरिएको थियो ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको र अर्बौं रुपैयाँको क्षति भएको हुँदा त्यसको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक हुनुपर्ने आरोप उनीहरूमाथि छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले तयार पारेको प्रतिवेदनमा उनीहरूलाई १०–१० वर्षसम्मको सजाय हुन सक्नेगरी कारबाहीको सिफारिस गरिएकाले त्यसैका आधारमा आधारमा ओली र लेखकलाई पक्राउ गरिएको थियो । पक्राउपछि ओली एक दिन पनि प्रहरी कार्यालयको हिरासतमा बसेनन् । उपचारका नाममा उनलाई शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो । लेखकलाई भने प्रहरीको महाराजगन्जस्थित २ नम्बर गणमा राखिएको थियो ।
ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका शाक्य र लेखक पत्नी एसोदाले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएक थिए ।
त्यसपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको सोमबारको संयुक्त इजलासले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सशर्त थुनामुक्तको आदेश दिएको थियो । पछिल्लो पटक थप गरिएको पाँच दिनभित्र ओली–लेखकमाथि मुद्दा अभियोजन नभए उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले परमादेश दिएको थियो ।
सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न दिएको आदेशअनुसार उनीहरु हाजिरी जमानीमा रिहा भएका हुन् ।
प्रहरीले पनि नियन्त्रणमुक्त गरेर ओलीलाई त्रिवि शिक्षण अस्पतालमै पत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ ।