Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पक्राउ पुर्जीपछि पूर्वप्रधानमन्त्री देउवाले भने - सम्पत्तिबारे भ्रामक प्रचार गरियो, मेरो जीवन खुला किताब हो

पक्राउ पुर्जीपछि पूर्वप्रधानमन्त्री देउवाले भने - सम्पत्तिबारे भ्रामक प्रचार गरियो, मेरो जीवन खुला किताब हो

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि भ्रामक र झुटा प्रचार गरिएको दाबी गरेका छन् ।

स्वास्थ्य उपचारका लागि पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासँगै हाल हङकङमा रहेका देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

मंगलबार साँझ अदालतबाट देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको थियो। उक्त घटनापछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै देउवाले आफूविरुद्ध सुरु भएको अनुसन्धानबारे सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएको बताएका छन्।

उनले सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण नेपालका सम्बन्धित निकायमा नियमित रूपमा बुझाउँदै आएको दाबी गरेका छन्।

'म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु। मेरो जीवन एउटा खुला पुस्तक हो,' देउवाको भनाइ छ।

यस प्रकरणको पृष्ठभूमिमा गत भदौ २४ गते जनेजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको घटना छ।

सो क्रममा देउवा दम्पती घाइते भएका थिए भने आगलागीपछि जलेको अवस्थामा नगद भेटिएको भनिएका भिडिओहरू सार्वजनिक भएपछि उनीहरूको सम्पत्तिको स्रोतबारे व्यापक प्रश्न उठ्न थालेको थियो।

देउवाले लोकतन्त्र, विधिको शासन र पारदर्शिताका लागि आफूले जीवनभर संघर्ष गरेको स्मरण गराउँदै विगतमा आफूले अघि सारेका भ्रष्टाचारविरोधी कानुनहरूको उल्लेखसमेत गरेका छन्।

'भ्रष्टाचारमुक्त समाज निर्माण गर्न म गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरो प्रधानमन्त्रित्वकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गरिएको सर्वविदित छ,' उनले भने।

वास्तविकता समयक्रमसँगै बाहिर आउने विश्वास व्यक्त गर्दै उनले अतिरञ्जित र अपुष्ट विवरणको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077