एजेन्सी । इरानले संयुक्त राज्य अमेरिकासँग जारी तनावलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यले पाकिस्तानमार्फत शान्ति प्रस्ताव पठाएको छ ।
समाचार एजेन्सी आईआरएनएका अनुसार इरानी प्रतिनिधिमण्डलले अमेरिकाको प्रस्तावको औपचारिक जवाफ पठाएको हो । उक्त प्रतिक्रिया करिब दुई हप्तासम्मको आन्तरिक समीक्षा र छलफलपछि तयार गरिएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि मंगलबारसम्मको समयसीमा दिएका थिए। सोही दबाबबीच इरानले आफ्नो धारणा सार्वजनिक गरेको हो।
आईआरएनएको रिपोर्टअनुसार इरानले अमेरिकाको १५ बुँदे प्रस्ताव अस्वीकार गर्दै आफ्नो १० बुँदे प्रतिउत्तर पठाएको छ।
इस्माइल बघाईले मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भएको पुष्टि गरेका छन्। तर, इरानले अस्थायी युद्धविरामको अवधारणालाई अस्वीकार गर्दै दीर्घकालीन समाधानमा जोड दिएको स्पष्ट पारेको छ।
आईआरएनएले लेखेको छ, ‘इरानको दश-अनुच्छेदको जवाफमा विगतका अनुभव उद्धृत गर्दै युद्धविरामको विचार अस्वीकार गरेको छ। बरु यसको सट्टा इरानले आफ्ना सर्तमा स्थायी समाधानमा जोड दिएको छ।’
समाचार एजेन्सीका अनुसार इरानको दस्तावेजमा क्षेत्रीय द्वन्द्वको अन्त्य, होर्मुज स्ट्रेटमा सुरक्षित आवतजावतको सम्झौता, पुनर्निर्माण र प्रतिबन्ध हटाइनुपर्नेजस्ता धेरै माग छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् ।
उनले होर्मुज जलमार्ग नखोले इरानका पावर प्लान्ट, पुल तथा अन्य पूर्वाधारमाथि आक्रमण हुन सक्ने बताएका छन्।