काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ यतिबेला प्रहरी हिरासतमा छन् । यद्यपी उनीविरुद्ध अहिलेसम्म कसैले पनि किटानी जाहेरी दिएका छैनन् ।
अमेरिकामा रहेकी एक युवतीलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकै भरमा प्रहरीले उनलाई पक्राउ गर्दा अभिनेता बलेको १७ वर्ष लामो करियरलाई क्षति पुर्याएको छ ।
फेसबुकमार्फत ती युवतीले लगाएको बलात्कारको आरोपपछि प्रहरी उनलाई पक्राउ गरेको थियो । हिरासतमा रहेका सागरलाई भेट्न पुगेका निर्देशक राजु गिरीका अनुसार सागर आफ्नो वर्तमान अवस्था र बिग्रिएको छविलाई सम्झेर भक्कानिएका थिए ।
आफ्नो पीडा पोख्दै सागरले निर्देशक गिरीसँग भनेका थिए–‘दाइ, मेरो १७ वर्षको मेहनत आज १७ सेकेन्डमै गयो ।’
बलेविरुद्ध हालसम्म प्रहरीमा कुनै औपचारिक किटानी जाहेरी परेको छैन । जाहेरी नभएकै कारण उनलाई बलात्कारको मुद्दामा नभई शान्ति सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ५ दिनको अनुमति दिएका छन् ।
बलेविरुद्ध कुनै पनि जाहेरी नपरेकाले प्रहरीले अभद्र व्यहारको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद लिएको हो ।
कुनै पनि कसुर वा अभियोग नलगाई प्रमुख जिल्ला अधिकारीको तजविजी अधिकारको दुरुपयोग गरी बलेलाई पक्राउ गरिएको प्रहरीकै विज्ञप्तिबाट प्रष्ट हुन्छ । बलेको पक्राउ पूर्वाग्रह वा दबाब र प्रभावमा होइन भन्ने आधार र कारण काठमाडौंका प्रमुख जिल्ला अधिकारी पौडेलले खुलाउन सकेका छैनन् ।
विगतमा पनि व्यक्तिगत प्रतिशोध स्वरुप कसैलार्ई दुःख दिनु पर्दा शान्ति सुरक्षा ऐनको दुरुपयोग गरी प्रजिअको आदेशमा गिरफ्तार गर्ने गरिन्थ्यो ।
यसले अझै पनि कर्मचारी र प्रशासन संयन्त्र कानूनी राजमा विश्वास नगरी तजविजी अधिकारमा विगतकै सरकारको जस्तो कार्यशैलीमा चलेको देखिन्छ ।
यस्ता घटनाले विकृति, भ्रष्टाचार र कुसासनविरुद्ध सुशासनको पक्षमा रहेको दावी गर्दै आएको बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारलाई बदनाम गराउन पुरानै सस्कार र शैली बोकेका कर्मचारीले कानूनी शासनको धज्जी उडाउँदै निरंकुशताको झल्को दिने गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पनि विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भ्रामक सूचना र अभिव्यक्तिहरु नदिन सबैलाई अनुरोध समेत गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले भनेका छन्–‘उक्त सन्दर्भमा सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा समाचार एजेन्सीको नाममा सञ्चालित अकाउन्टबाट विभिन्न प्रकारका अभिव्यक्ति, धारणा र सूचना सम्प्रेषित भएको प्रति ध्यानाकृष्ट भएको छ । अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको विषयमा भ्रामक तथा अप्रमाणित सूचनाहरु सम्प्रेषण नगर्न(नगराउनका लागि सबैमा हार्दिक अनुरोध गरिन्छ ।’
ती युवतीको स्ट्याटस बाहिर आएलगत्तै बलेको व्यावसायिक जीवनमा समेत ठूलो धक्का पुर्याएको छ । उनलाई छायाङ्कन भइरहेको फिल्म ‘पाँच पाण्डव’ बाट औपचारिक रूपमा निष्कासित गरिसकिएको छ ।
उनको ९० प्रतिशत छायाँकन भइसकेको अवस्थामा स्टाटस आउनेवित्तिकै निष्कासित गर्नुमा पनि आशंका पैदा भएको छ ।
त्यस्तै, उनी मुख्य भूमिकामा रहेको र राजु गिरीकै निर्देशनमा तयार भएको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को भविष्य पनि अन्योलमा परेको छ । फिल्मको मुख्य अभिनेता नै कानूनी झमेलामा फसेपछि फिल्म रिलिज अनिश्चित बनेको निर्देशक गिरीले बताए ।
यसैबीच बलेसँग लामो समय सहकार्य गरेका कलाकारले नै उनलाई फसाएको आरोप पनि लागेको छ । प्रधानमन्त्री बालेनसँग निकट सम्बन्ध रहेका ति कलाकारले व्यक्तिगत प्रतिशोध साँधेर बलेलाई प्रहरीको हिरासतसम्म पुर्याएको बले निकट स्रोतको दावी छ ।
बले चैत २१ गते बुढानिलकण्ठबाट पक्राउ परेका थिए ।