काठमाडौं । सुधन गुरुङ गृहमन्त्री बनेसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वउर्जामन्त्री दिपक खड्का, एमालेका दुई सांसद, विचौलियाको उपमा पाएका विवादस्पद व्यापारी दीपक भट्टदेखि यातायता कार्यलय र मालपोतमा दलाली गर्ने तथा रेष्टुरेन्टको नाममा गुणगर्दी गर्ने झण्डै दुई सय जना पक्राउ परेका छन् ।
त्यतिमात्रै होइन प्रहरीले धनाढ्य व्यापारीहरुलाई पनि पक्राउ गरेको छ । दीपक भट्टसँग जोडिएका शंकर गु्रपका अध्यक्ष शंकर अग्रवालदेखि सञ्चालक सुलभ अग्रवालसम्म पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण गरेको आरोपमा चैत २१ गते शनिबार सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका हुन् । शंकर अग्रवाल भने २० गते नै पक्राउ परेका थिए । उनीहरु बाबु छोरा हुन् ।
।
शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएको हो ।
भट्टको इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा शंकर अग्रवाल पक्राउ परेको भोलीपल्टै छोरा शुलभलाई पनि पक्राउ गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इन्फिनिटी होल्डिङ्सका प्रमुख दीपक भट्टलाई बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो ।
अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । करोडौंको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे २ वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो ।
त्यसपछि विभागले पुस २०७९ मा भट्टसँग प्रारम्भिक बयान लिएको थियो । तर, सामान्य छानबिन मात्रै गरेर विभागले गत वैशाखमा मुद्दा नचलाई राष्ट्र बैंकलाई उजुरी फिर्ता गरिदिएको थियो ।
रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि विभागले पुरानो फाइल ब्युँताएर पुनः अनुसन्धान सुरु गरेको छ । सोहीक्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनै सुलभ अग्रवाललाई सम्पत्ति सुद्धिकरण विभागले साढे तीन वर्ष अघि नै सेटिङमा क्लिनचिट दिएको खुलेको छ । कोरोनाको महामारीका बेला २०७६ चैत्रमा उनी थर्मल गन कालोबजारी गरेको अभियोगमा पक्राउ परेका थिए ।
५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा विक्री गरेको भेटिएपछि उनलाई महानगरीय प्रहरी अपराध महासाखाले पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले ३७ थान थर्मल गन समेत बरामद गरेको थियो ।
कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेर कालोबजारी गरेको खुलेको थियो । प्रहरीले उनको साथबाट २०९ एचसीसी १ नम्बरको गाडी समेत बरामद गरेको थियो ।
प्रहरीले लामो अनुसन्धानपछि कालोबजारी सम्बन्धी कसुरमा जेल सजाय माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पेश गरेको थियो ।
सरकारी वकिल कार्यालयले उनलाई थुनछेक आदेश माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दियो । धरौटी तिरेर रिहा भए लगत्तै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पुन पक्राउ गरि सम्पत्ति सुद्धिकरण विभागलाई बुझाएको थियो ।
तर, सम्पत्ति सुद्धिकरण विभागका तत्कालिन महानिर्देशक प्रेमप्रसाद भट्टराईले अग्रवाललाई सुटुक्क क्लिनचिट दिएका थिए । विभागले अग्रवाललाई जानकारी गराउँदै २०७९ वैशाख २ गते लेखेको पत्र संख्या ०७८।०७९ चलानी नम्बर ६—३—४४ मा राउत मल अग्रवालको नाती शंकरलाल अग्रवालको छोरा सुलभ अग्रवालले सम्पत्ति सुद्धिकरण सम्बन्धि कसुर गरेको नदेखिएको जानकारी गराइएको थियो ।
अग्रवालविरुद्ध प्रहरीले गरेको अनुसन्धानसहितको उजुरीलाई समेत विभागले लगतकट्टा गरेर राखेको थियो । स्रोतका अनुसार यो सबै काम तत्कालिन महानिर्देशक एवं हाल ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले नै गराएका हुन् । भट्टराई पटक–पटक विवादमा परेका कर्मचारी हुन् ।
मोरङको सीडीओ भएका बेला पनि उनी विवादमा तानिएका थिए । भट्टराईकै कारण मोरङका उद्योगी ब्यवसायीले आफूहरुलाई अनावश्यक सास्ती भएको भनेर तत्कालिन गृहमन्त्री रमेश लेखकसँग गुनासो गर्दा पनि उनको सरुवा हुन सकेको थिएन । कांग्रेस नेता डा. शेखर कोइरालालाई रिजाएकै कारण लेखकले उनको सरुवा गर्न सकेका थिएनन् ।
चाकडी र चाप्लुसीमा माहिर भट्टराई जागिरका अधिकांश समय आकर्षक कार्यालयमा बिताउँदैआएका छन् । सहसचिवमा बढुवा भएपछि लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको सचिव, प्रदेशसभाको सचिव हुँदै लामो समय ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका थिए ।
लामो समय ललितपुर महानगरमा बस्दा पनि उनी विवादमा तानिएका थिए । त्यतिबेला उनीमाथि सप्लायर्स, ठेकेदार, उद्योगी ब्यापारीहरुमार्फत् असुली गरेको आरोप लागेको थियो ।
त्यसपछि भट्टराई भक्तपुरको सीडीओ बने । त्यसपछि तत्कालिन परराष्ट्रमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर पत्नी आरजु राणा देउवालाई नै खुसी पारेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बने ।
विभागको इतिहासमै उनको कार्यकालमा सबैभन्दा कम मुद्दा दर्ता भएको थियो । उनले सेटिङमा सबैभन्दा धेरै उजुरी पनि आफ्नै पालमा तामेलीमा रााखेका थिए । प्रत्येक उजुरी तामेलीमा राख्दा मोलमोलाई गरेको आरोप उनीमाथि छ ।
तत्कालिन महानिर्देशक उनै भट्टराईको निर्देशनमा ६ अर्ब ७१ करोड रुपैयाँ सम्पत्ति स्रोत नखुलेका सुलभ अग्रवाललाई झण्डै चार वर्ष अघि नै उन्मुत्ति दिएको पाइएको हो । तर, अहिले अग्रवाल सम्पत्ति सुद्धिकरण मुद्दामा पुन पक्राउ परेसँगै उनको पुरानो फाइल पनि खुल्ने देखिन्छ ।