काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा हानेको छ ।
मंगलबार निजी निवास र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा हानेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको विभाग स्रोतले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।
नेपाल प्रहरीदेखि नेपाली सेनासम्मको ठेक्कापट्टामा हालीमुहाली गर्दै आएका विचौलिया भट्ट चैत्र १९ काठमाडौंको गैह्रिधारबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो ।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको थियो।
सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले पक्राउ गरेका भट्टलाई जिल्ला सरकारी वकिल काठमाडौंले अदालतमा पेस गरेको थियो ।
भट्टलाई काठमाडौं जिल्ला अदालतले १० दिन हिरासतमा राख्न अनुमति दिइ अनुसन्धान भइरहेको छ ।
साथै सम्पत्ति शुद्धीकरण विभागले उनलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेपछि विभागले भट्टको राहदानी रोक्का गरिसकेको छ।
यता बिचौलिया भट्टका साझेदार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाल पनि चैत्र २१ गते भैरहवाबाट पक्राउ परेका थिए ।
सुलभमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको छ ।
यसअघि सुलभ पक्राउ पर्नुअघि नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र्अथात् सुलभका बुबा पनि पक्राउ परेका थिए ।
यसअघि व्यवसायीक साझेदार दीपक भट्ट पक्राउ परेसँगै फरार रहेका सुलभ बुबा शंकरलाई प्रहरीले नियन्त्रणमा लिएसँगै प्रहरीको सम्पर्कमा आएका थिए। त्यसपछि शंकरलाई बयान सकेर छोडिएको थियो ।
शंकर ग्रुपको मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।
शंकर ग्रुप र भट्टका कम्पनीबीच ४५ करोड अवैध कारोबार भएको स्रोतले जनाएको छ ।