काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अलपत्र परेका नेपालीको उद्धार गर्न नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सञ्चालन गर्ने भएको छ ।
ती क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्याउन विशेष उडान सञ्चालन गर्न लागिएको हो ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ३ अप्रिलमा काठमाडौं-दुबई, ४ अप्रिलमा दुबई-काठमाडौं तथा ५ अप्रिलमा काठमाडौं-दमाम-काठमाडौं उडान गर्ने तालिका तय गरेको छ ।
सरकारका अनुसार ती क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन तथा गन्तव्य मुलुकसम्म पुर्याउन यो विशेष उडान सञ्चालन गर्न लागिएको हो ।
यसअघि चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका उच्च अधिकारीबीच बैठक बसेर उद्धार र आवागमन सहज बनाउने विषयमा छलफल भएको थियो ।
पश्चिम एसियामा बढ्दो तनाव र असुरक्षाका कारण फेब्रुअरी २८ देखि नियमित उडानहरू स्थगित छन् ।