काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई पनि तिब्बती सरकार प्रमुखले बधाई दिएका छन् । भारतको धर्मशालामा निर्वासित जीवन विताइरहेका तिब्बती धर्मगुरू दलाई लामा सरकारका प्रधानमन्त्री सिक्योङ्ग पेन्पा छिरिङ्गले बालेनलाई शनिबार सामाजिक सञ्जालमार्फत् बधाई पठाएका हुन् ।
नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला बालेनलाई पनि बधाई आएपछि विभिन्न आशंका पैदा भएका छन् । यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बलमा भदौ २७ गते अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी सुशीलाई कार्कीलाई निर्वासित तिब्बती धर्मगुरू दलाई लामा र उनको सरकारमा प्रमुखले बधाई दिएका थिए।
त्यतिबेला नै यसको विरोध भएको थियो । जेनजी आन्दोलनयता तिब्बती शरणार्थीको सक्रियता बढ्दै गएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जेनजी आन्दोलनको बलमा गत भदौ २४ गते ढलेसँगै तिब्बती शरणार्थीहरूको सक्रियता बढ्दै गएको छ ।
जेनजी आन्दोलनमै तिब्बती शरणार्थी युवाहरूको सहभागितालाई लिएर चीनले प्रश्न उठाएको थियो। र, पनि तिब्बतीहरुले त्यही परम्परालाई निरन्तरता दिंदै गत शुक्रबार प्रधानमन्त्री भएका बालेन्द्र शाहलाई बधाई दिएपछि एक चीन नीतिमाथि प्रश्न उठ्ने संकेत देखिएको छ ।
निर्वासित तिब्बती शरणार्थीको सम्भावित सक्रियताले चीन र नेपालबीचको सम्बन्धमा समस्या आउन सक्ने चिन्ता भने बढाएको छ।
नेपाल र तिब्बतबीचको ऐतिहासिक तथा आध्यात्मिक सम्बन्धको पनि चर्चा गर्दै प्रधानमन्त्री छिरिङ्गले बधाई सन्देशमा भनेका छन्–‘हालैको जेन–जेड नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीको रूपमा तपाईंको उदय नेपाली जनताको, विशेषगरी युवापुस्ताको आकांक्षाको सशक्त प्रतीक हो।’
नेपाल प्रगति, समृद्धि तथा सकारात्मक परिवर्तनतर्फ अघि बढ्ने अपेक्षा गर्दै उनले भनेका छन्–‘नेपालको इतिहासको महत्वपूर्ण घडीमा तपाईंको सफल कार्यकालका लागि शुभकामना १ तपाईंको सक्षम नेतृत्वमा दुई देशका जनताबीचको मित्रता अझ सुदृढ हुने र नेपाल प्रगति, समृद्धि तथा सकारात्मक परिवर्तनतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ ।’
नेपाल सरकार र नेपाली जनताको उदारताप्रति कृतज्ञता व्यक्त गर्दै उनले नेपाल र तिब्बतबीच गहिरो ऐतिहासिक तथा आध्यात्मिक सम्बन्ध रहेको बताएका छन् । जुन पुस्तौंदेखि कायम रहेको पनि उनको भनाई छ ।
उनले भनेका छन्–‘तिब्बतमा भएको जबर्जस्ती कब्जापछि नेपालमा शरण लिएका तिब्बती समुदायले आफ्नो पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।’