काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन आयोगसमक्ष बुझाएको छ ।
आयोगद्वारा गठित अनुसन्धान समितिले शुक्रबार अध्यक्ष तपबहादुर मगरलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सम्भावित मानव अधिकार उल्लङ्घनका घटनाबारे अध्ययन गर्न आयोगले सदस्य डा. लीली थापाको नेतृत्वमा समिति गठन गरेको थियो।
उक्त समितिले आन्दोलनका क्रममा भएका गतिविधि, सुरक्षा निकायको भूमिका तथा प्रदर्शनकारीमाथि भएको व्यवहारलगायत विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पारेको जनाएको छ। बुझाइएको प्रतिवेदनमाथि अब आयोगको बैठकमा विस्तृत छलफल हुने बताइएको छ।
यसैबीच, सरकारले पनि जेनजी आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा अलग जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले गत फागुन २४ गते नै आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।