काठमाडौं । झण्डै दुई तिहाई बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ बन्ने सरकारको प्रधानमन्त्री बन्ने निश्चित रहेका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले कस्ता–कस्ता व्यक्तिलाई मन्त्रीमण्डलमा समावेश गर्लान ? अहिले सबैतिरबाट उठ्ने गरेको प्रश्न हो यो ।
रास्वपाका सभापति रवि लामिछानेले तनहुँ–१ बाट निर्वाचित डा.स्वर्णिम वाग्लेलाई अर्थमन्त्री घोषणा गरिसकेका छन् । उनले चुनावी कार्यक्रममै वाग्लेलाई बजेट लेख्न भन्दै आग्रह गरेका थिए ।
लामिछानेले काठमाडौं–६ बाट निर्वाचित शिशिर खनाललाई परराष्ट्रमन्त्री बनाउन चाहेका छन् भने काठमाडौं–९ बाट विजयी डीपी अर्याललाई गृहमन्त्री र कञ्चनपुर–२ बाट निर्वाचित दिपक बोहोरालाई सञ्चारमन्त्री बनाउन खोजिरहेको स्रोत बताउँछ । तर, बालेन भने अर्याललाई गृहमन्त्रीमा स्वीकार्न तयार भइसकेका छैनन् ।
बोहोरालाई बालेनले ‘रिजेक्ट’ गरेको खण्डमा धनुषा–३ बाट निर्वाचित मनिष झालाई अगाडी सार्ने योजना पनि लामिछानेको छ । ललितपुर–२ बाट निर्वाचित बारबरा फाउण्डेसन निकट जगदिश खरेल पनि सञ्चारमन्त्रीमा दोहोरिन चाहिरहेका छन् ।
अहिलेसम्म लामिछाने र बालेनबीच मन्त्री बनाउने विषयमा छलफल चलेपनि कुनै सहमति भने हुन नसकेको बालेन निकट एक नेताले बताएका छन् ।
बालेनले आफू नेतृत्वको सरकारमा क्षमता र विज्ञताका आधारमा मन्त्रीहरु नियुक्त गर्ने रणनीति बनाए पनि अन्तिममा भने भागवण्डा नै मुख्य आधार बन्न सक्ने देखिएको छ ।
बालेनले रुपन्देही–१ बाट निर्वाचित सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउन चाहेका छन् भने तीन वर्षसम्म महानगरपालिकामा साथ दिएका राजुनाथ पाण्डेलाई पनि मन्त्रीमण्डलमा ल्याउन चाहेका छन् । पाण्डे उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै काठमाडौं–३ बाट विजयी भएका हुन् ।
यसअघि ओमप्रकाश अर्याललाई हटाएर पाण्डेलाई गृहमन्त्री बनाउन बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको समेत सार्वजनिक भएको थियो । अहिले आफै प्रधानमन्त्री बन्ने भएपछि पाण्डेलाई पनि बालेन ‘पावरफुल’ मन्त्रालय दिन चाहन्छन् ।
तर, पाण्डेलाई लामिछाने निकट रास्वपाकै केही नेताहरुले ‘पाण्डे रक्षा मन्त्री’ बन्न सक्ने भन्दै मिडिया ट्रायल गरिरहेका छन् ।
जेनजी आन्दोलनको हाइज्याकरको रुपमा चिनिएका गोरखा–१ बाट निर्वाचित सुदन गुरुङसमेत मन्त्री दावी गरिरहेका छन् । गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मा पाउन सक्ने रास्वपाभित्र चर्चा छ ।
बालेनले प्युठानबाट विजयी सुशान्त बैदिक र गुल्मी–१ बाट निर्वाचित सागर ढकाललाई पनि मन्त्रीमा ल्याउन चाहेको उनी निकट स्रोत बताउँछ ।
त्यस्तै लामिछाने समूहका गुल्मी–२ बाट निर्वाचित गोविन्द पन्थी तथा चितवन–३ बाट निर्वाचित सोविता गौतम पनि मन्त्रीमण्डलमा समावेश हुनसक्ने बताइएको छ ।
काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेल पनि मन्त्रीका आकांक्षी हुन् । केही दिन अघि नेपाली सेनालाई विवादमा पार्नेगरी अन्तर्वार्ता दिएका कारण बालेन समूह हच्किएको बताइन्छ ।
सोवितालाई कानून मन्त्री बनाउन लामिछाने सकारात्मक रहेको बुझिएको छ । तनहुँ–२ बाट निर्वाचित श्रीराम न्यौपाने र लमजुङबाट निर्वाचित धर्म केसी पनि दुबै समूहबाट रोजाइमा परेका पात्र हुन् ।
त्यसैगरी, ओखलढुंगाबाट निर्वाचित पूर्वएआईजी विश्वराज पोखरेल र बैतडीबाट निर्वाचित हरिमोहन भण्डारीले आफूलाई मन्त्री बनाउनुपर्ने माग राखेर मिडियामा बोल्न थालिसकेका छन् ।
सर्लाही–४ बाट कांग्रेस सभापति गगन थापालाई पराजित गरेका अमरेश कुमार सिंहलाई पनि कुनै मन्त्रालयको जिम्मेवारी दिन बालेन र लामिछानेले चाहेपनि मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।
बाँके–३ बाट निर्वाचित खगेन्द्र सुनार पनि मन्त्रीमण्डलमा अट्ने सम्भावना रहेको छ । उनलाई महिला तथा बालबालिका मन्त्री बनाउनुपर्ने भन्दै रास्वपाभित्रै चर्चा छ ।
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छ : सभापति लामिछाने
यसैबीच, सभापति रवि लामिछानेले विज्ञताका आधारमा पार्टीले मन्त्री छान्ने बताएका छन्। विज्ञताको मूल्यांकन गरेर पार्टीले मन्त्री चयन गर्ने भएकाले मन्त्री बनाइदिन भनेर दौडधुप नगर्न उनले निर्देशन दिए।
मन्त्रीका लागि मिडियाबाजी पनि आवश्यक नभएको उनको भनाइ छ। आफ्नो क्षेत्रमा बजेट लैजान ध्यान दिनेभन्दा समग्र देशको विकासमा ध्यान दिन उनले सांसदहरूलाई आग्रह गरेका छन्।
पार्टीको कार्यक्रममा उनले जनताले पार्टीलाई जति ठूलो बनाइदिएका छन् त्यती नै ठूलो जिम्मेवारी रहेको बताएका छन्। हरेक दिन जनताको मत सम्झेर काम गर्न सांसदहरुलाई काम गर्न निर्देशन दिए।
आफ्नो निर्वाचन क्षेत्रमा हरेक दिन खटिन निर्देशन दिंद उनले भने–‘तपाईका क्षेत्रका कुनै पनि जनताले दुःख पाउनुभएन ।’
जिम्मेवार भएर काम नगर्नेको हकमा पार्टीले ‘राइट टु रिकल’लाई कडाईका साथ लागु गरिने समेत उनले बताए।