बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं. २ मा खटिएका मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ ।
शंकास्पद गतिविधि गर्ने आरोपमा गलकोट नगरपालिका–१०स्थित रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रका लागि खटाइएका मतदान अधिकृत प्रकाश गैरेको जिम्मेवारी खोसिएको हो ।
निर्वाचन आयोगका अनुसार बागलुङका दुई वटै निर्वाचन क्षेत्रका लागि मतदान अधिकृत तथा कर्मचारीहरुको लागि सामाजिक सञ्जालमा ह्वाट्सएप ग्रूप बनाइएको थियो । उक्त ग्रूपमा गैरेद्वारा व्यक्त गरिएका केही धारणा तथा संलग्न गतिविधिले निर्वाचनको स्वच्छता, तटस्थता र विश्वसनीयतामा प्रतिकूल प्रभाव पार्न सक्ने आकलन गरिएको थियो।
निर्वाचन अधिकृतको हैसियतअनुसार अपेक्षित मर्यादा विपरीत क्रियाकलाप देखिएकाले जिम्मेवारीबाट हटाउने निर्णय लिइएको आयोगले स्पष्ट पारेको छ।
उनको क्रियाकलापले निष्पक्ष निर्वाचन गर्न सक्ने अवस्था नदेखिएको समेत आयोगले जारी गरेको पत्रमा भनिएको छ ।
हटाइएका अधिकृतलाई आफ्नो जिम्मामा रहेका मतपत्र तथा अन्य निर्वाचन सामग्री तत्कालै सुरक्षा निकायमार्फत बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ।
साथै उक्त मतदान केन्द्रमा अब भुवन बहादुर कुँवरलाई मतदान अधिकृतका रूपमा खटाइएको कार्यालयले पुष्टि गरेको छ।