धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ निर्वाचन क्षेत्र नम्बर–१ की प्रतिनिधि सभा उम्मेदवार आशिका तामाङको चुनावी सभामा दिएको अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
बिहीबार गल्छीचोकमा आयोजित चुनावी सभामा, पार्टी सभापति रवि लामिछाने समेत उपस्थित रहेका बेला मन्तव्य दिने क्रममा तामाङले भनेकी थिइन्, 'धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएकी हुँ !'
उनको उक्त भनाइसँगै सभास्थलमा सहभागीहरू एकछिन स्तब्ध बनेका थिए। लगत्तै सभापति लामिछानेले हतारमा हस्तक्षेप गर्दै भने, 'भनेर अन्य नेताले भन्छन् तर आशिकाले भन्दिनन्,' भन्दै स्थिति सम्हाल्ने प्रयास गरेका थिए।
तर भाषणका क्रममा फुत्किएको ‘भ्रष्टाचार गर्न आएकी हुँ’ भन्ने अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक टिप्पणी निम्त्याएको छ। समर्थकदेखि आलोचकसम्मले उक्त भिडियो सेयर गर्दै विभिन्न प्रतिक्रिया जनाइरहेका छन्।
कतिपयले यसलाई सामान्य जिब्रो चिप्लिएको घटना मानेका छन् भने केहीले उम्मेदवारको तयारी र गम्भीरतामाथि प्रश्न उठाएका छन्।
विवाद बढेपछि उम्मेदवार तामाङले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै माफी मागेकी छन्। उनले भीड, समय अभाव र हतारका कारण बोल्ने क्रममा गल्ती भएको बताएकी छन्।
'धादिङमा सुशासन स्थापना गरी, भ्रष्टाचार अन्त्य गर्न आएकी हुँ’ भन्ने वाक्य भन्नुपर्ने थियो तर ‘अन्त्य’ शब्द मेरो आँखाले ठम्याउन सकेन र ‘भ्रष्टाचार गर्छु’ भन्ने शब्द सुनिन गएको हुँदा सम्पूर्णमा माफी माग्दछु,' उनले लेखेकी छन्।
उनका अनुसार साँझ परिसकेको, भीड ठूलो भएको र सभापतिसँग समय कम भएकाले छिटो मन्तव्य प्रस्तुत गर्ने क्रममा शब्द छुट्न गएको हो।
'एकपल्टको लागि गल्ती भो। अबदेखि बोल्दा धेरै ध्यान गरेर मात्र बोल्नेछु र यस्तो गल्ती भविष्यमा नगर्ने वाचा गर्दछु,' उनले प्रतिबद्धता जनाएकी छन् ।