काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसद प्रशिक्षण कार्यक्रमको शैलीलाई लिएर आफ्नै पार्टीमाथि प्रश्न उठाएकी छन् ।
महँगा होटल तथा बाहिरी सभा हलमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भन्दै उनले खर्च, पारदर्शिता र व्यवहारिकतामाथि सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी हुन् ।
‘कसैसँग हल सापटी लिएर कार्यक्रम गर्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला । सिंहदरबारमै सभाहल छन् । बाहिरको खर्चको लेखाजोखा कसले गर्ने ?’ भन्दै उनले प्रश्न उठाइन् ।
सांसदहरूको सुरक्षालाई आधार बनाएर महँगा हल प्रयोग गर्नु उचित नभएको उनको तर्क थियो ।
‘सांसदहरूलाई एक दिन मात्रै चाहिने हो सुरक्षा ? अरू दिन पर्दैन ?’ उनले प्रश्न गरिन् ।
परिवर्तन, मितव्ययिता र सुशासनको एजेन्डा बोकेको पार्टीले व्यवहारमा फजुल खर्च रोक्न नसके पुराना दल र रास्वपाबीच कुनै अन्तर नदेखिने उनले बताइन् ।
‘फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा त्यो देखिएन भने नयाँ र पुरानामा के फरक ?’ तामाङले टिप्पणी गरिन् ।
रास्वपाले हाल ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सांसद प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।